
वासुदेव त्रिपाठी:- वास्तविक थर तिवारी भए पनि तीन भाषा (नेपाली,संस्कृत र हिन्दी) का ज्ञाता भएकाले त्रिपाठी थरबाट परिचित वासुदेव त्रिपाठीको जन्म वि.स. १९९९ साल चैत्र महिनमा तनहूँ जिल्लाको दोरदोरे भन्ने ठाउँमा भएको हो। नेपाली विषयमा पहिलोपटक विद्यावारिधिको उपाधिप्राप्त गरेका त्रिपाठीलाई लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन शीर्षकको कृतिका लागि सं. २०३४ सालको मदन पुरस्कार प्राप्त छ। साहित्य, सिर्जना, समीक्षा, प्राध्यापन जुनसुकै क्षेत्रमा हात हाले पनि सफलता हात पार्ने त्रिपाठी बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन्। वि.सं. २०१५ सालतिर देखि सिर्जनात्मक लेखनमार्फत नेपाली साहित्यमा प्रवेश गरेका त्रिपाठी २०१८ पश्चात् समालोचनामा प्रवेश गरेको देखिन्छ। नेपाली समालोचनाको इतिहासमा कुनै समालोचकहरूको प्रभाववादी कित्तामा मिल्काएर अवमूल्यन गर्न प्रयास गरिएका समालोचक र कुनै समालोचकहरूले सैद्धान्तिक समालोचक भनी काखी च्यापेका त्रिपाठीमा प्रभावपरक समालोचना र सैद्धान्तिक समालोचनाको उत्कृष्ट संयोजन उनमा देखिन्छ। त्रिपाठीले पूर्वीय साहित्यसिद्धान्त र पाश्चाय साहित्यसिद्धान्तको सही प्रायोगिक प्रयोग गरेर सैद्धान्तिक सन्तुलनसहित नेपाली समालोचनालाई उचाइमा पुर्याएका छन्।
लामो समयसम्म नेपाली केन्द्रीय विभागमा प्रध्यापनगत उच्चता पाप्त गरेका त्रिपाठी नेपाली केन्द्रीय विभागको विभागीय प्रमुख रहेर पनि कुशल नेतृत्व दिन सफल व्यक्तित्वका रूपमा पनि चिनिन्छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपतिजस्तो उच्च ओहदामा समेत कार्य गरिसकेका त्रिपाठीलाई नेपाली भाषासाहित्यमा अथक साधक भन्न सकिने थुप्रै आधारहरू छन्।कविताको समालोचनामा गर्न बढी रुचाउने त्रिपाठी स्रष्ट्रालाई आशावादी दृष्टि र प्रोस्तसाह प्रदान गर्ने खालका समालोचक हुन्। आफू प्रवेश गरेपछि सम्बन्धित कृति तथा प्रवृत्तिको गहिराइसम्म पुगेर मूल्यनिरूपण गर्ने समालोचनात्मक कलामा खप्पिस त्रिपाठी सामलोचनाका अब्बल दर्जाका द्रष्ट हुन्।
प्रकाशित कृतिहरू
नेपाली कविताको सिंहवालोकन (२०२७), विचरण (२०२८), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (२०३०), साहित्यकार पहलमानसिँहको पुनर्मूल्याङ्कन (२०३३), लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन (२०३४)
No comments:
Post a Comment